

विराटनगर – मोरङको केराबारी गाउँपालिका–९ देवीझोडाका नईन्द्र विश्वकर्मा बहराइनमा वैदेशिक रोजगारमा गएका बेला गम्भीर मृगौला रोगका कारण स्वदेश फर्किएपछि निधन भएको घटनासँग जोडिएको बीमा रकम ठगी प्रकरणमा संलग्न रहेको आरोपमा सन नेपाल लाइफ इन्सुरेन्स कम्पनीका बिराटनगर शाखाका मेनेजर सन्तोष अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ।
३७ वर्षीय नईन्द्र विश्वकर्मा २०८० सालमा वैदेशिक रोजगारका लागि बहराइन गएका थिए। २०८१ मा उनी मृगौला रोगबाट गम्भीररूपमा ग्रसित भई स्वदेश फर्केका थिए र उपचारकै क्रममा उनको निधन भएको थियो। मृतककी श्रीमती भिमकुमारी विश्वकर्माले वैदेशिक रोजगार म्यादी बीमा अन्तर्गत रु. १३ लाख बीमा दाबी गर्न खोज्दा ठगी भएको उजुरी दिएकी थिइन्।
जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी दिएपछि प्रारम्भिक अनुसन्धानका क्रममा सन्तोष अधिकारीले मृतककी पत्नीलाई बीमा दाबीका लागि आवश्यक कागजातहरूमा सहिछाप गर्न लगाई, ग्लोबल आई.एम.ई. बैंकमा एकल र संयुक्त खाता खोल्न लगाई, तिनीहरूको खाली चेकमा समेत सहिछाप गराई आफैंले चेकबुक राखेको पाइएको छ। सोही प्रक्रियाबाट अधिकारीले बीमा रकममध्ये रु. ५,७६,०००/- मात्रै पीडितलाई भुक्तानी गराई बाँकी रकम विभिन्न योजनामा लगानी गरेको देखिएको छ।
साथै, अधिकारीले भिमकुमारीको नाममा १५ वर्ष अवधिको वार्षिक रु.७०,०००/- को बीमा योजना, प्रतिक विश्वकर्मा र मृतककी पहिलो श्रीमती मिरा विश्वकर्माको नाममा क्रमशः वार्षिक रु.५१,०००/- र रु.७०,०००/- को बीमा योजना बनाई आर्थिक भार श्रृजना गरेको समेत खुलेको छ। साथै, भिमकुमारीको नाममा खोलिएको खातामा रु. ६,४४,१७८/- को Fixed Deposit राखिएको पाइएको छ।
प्रहरीले निजलाई आपराधिक विश्वासघात तथा ठगीको कसुरमा नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाएको जनाएको छ।
पक्राउ परेका अधिकारी मोरङ, बिराटनगर महानगरपालिका–३ निवासी हुन्।