

विराटनगर – झापाको दमक–६ स्थित ढावा होटल एण्ड लजमा एक युवती झुण्डिएको अवस्थामा मृत फेला परेकी छन्। इलाका प्रहरी कार्यालय दमकका अनुसार मृत फेला पर्ने युवती शिवसताक्षी नगरपालिका–११, ब्याङडाडा निवासी करिश्मा निरौला हुन्। अन्दाजी २७ वर्षीया निरौला शनिवार दिउँसो करिब १ बजेतिर होटलको कोठा लिएर बसेकी थिइन्।
प्रहरीका अनुसार आइतबार दिउँसोसम्म कोठाको ढोका नखुलेपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए। प्रहरीको उपस्थितिमा ढोका खोल्दा ती युवती गलामा पासो लगाई पंखामा झुण्डिएको अवस्थामा फेला परेकी थिइन्।
निरौलाको शव पोस्टमार्टमका लागि सम्बन्धित निकायसँग समन्वय गरी अस्पताल पठाइएको जनाइएको छ। प्रारम्भिक जानकारीअनुसार उनी विवाहित थिइन् तर केही समयअघि सम्बन्धविच्छेद भएकी थिइन्। हालै मात्र विदेशबाट फर्किएकी उनी होटलमा एक्लै बसेको होटल व्यवसायी संघका प्रदेश अध्यक्ष राजन दंगालले जानकारी दिए।
मृत्युसम्बन्धी घटनाको विषयमा प्रहरीले आवश्यक अनुसन्धान अगाडि बढाएको जनाएको छ।