

विराटनगर — सभामुख देवराज घिमिरेले प्रेस स्वतन्त्रता जोगाउन संसद् सधैं सजग र चनाखो रहने बताएका छन्। विश्व प्रेस स्वतन्त्रता दिवस–२०२५ को अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणमा संसदको विशेष भूमिका रहेको स्पष्ट पारे।
सभामुख घिमिरेले आफ्नो सन्देशमा नेपालको संविधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई मौलिक हकको रूपमा सुनिश्चित गरेको उल्लेख गर्दै भने, “प्रेस स्वतन्त्रताको प्रत्याभूति संविधानको आत्मा हो, जसको रक्षा गर्नु संसद्को पनि प्रमुख दायित्व हो।”
उनका अनुसार प्रेस स्वतन्त्रता केवल पत्रकारको हक नभई आम नागरिकको सुसूचित हुने हकसँग समेत जोडिएको विषय हो। स्वतन्त्र प्रेसको माध्यमबाट मात्र सत्य, जवाफदेहिता र सुशासन स्थापित हुने विश्वास सभामुखले व्यक्त गरेका छन्।
सभामुख घिमिरेले सञ्चारकर्मी, सञ्चारमाध्यम, प्रेस स्वतन्त्रता पक्षधर अगुवा र आम नागरिकलाई दिवसको शुभकामना दिँदै लोकतन्त्र सुदृढ गर्न स्वतन्त्र प्रेसको योगदान उच्च मूल्यांकन योग्य रहेको बताएका छन्।