बिराटनगर :- मठमन्दिरमा आगो लगाउने अभिव्यक्ति दिएका जनक परियारलाई प्रहरीले पक्राउ गरेको छ।
रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१२ घर भएका २७ वर्षीय परियारलाई काठमाडौंको टोखा क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। प्रहरीका अनुसार उनलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले परियारलाई अनुसन्धानको दायरामा ल्याइएको जानकारी दिएका छन्।
परियारले अनामनगरस्थित संवाद डबलीमा बोल्दै “मठ मन्दिरमा आगो लगाइदिन्छौँ” भन्दै चेतावनीपूर्ण अभिव्यक्ति दिएका थिए। उनले समान अधिकार नदिइए देशभर विद्रोह गर्ने समेत बताएका थिए।
उनको अभिव्यक्ति विभिन्न युट्युब च्यानलमार्फत प्रसारित भएपछि प्रहरीले चासो दिएको थियो। परियारले दलित समुदायलाई विगतदेखि नै विभेद र नारकीय जीवन बाँच्न बाध्य बनाइएको तथा गाउँघरमा अझै पनि दलितको अवस्था दयनीय रहेको बताएका थिए।
हाल उनी टोखा नगरपालिका–८ बानियाँटारमा बस्दै आएका प्रहरीले जनाएको छ।