झापा — शिवसताक्षी नगरपालिका–६ मा निर्माण सुरु गरिएको कवर्डहल चार वर्षदेखि अलपत्र अवस्थामा पुगेपछि सरकारी लगानीको प्रभावकारितामाथि प्रश्न उठ्न थालेको छ। खेल पूर्वाधारको अभावमा स्थानीय युवा प्रभावित भइरहेका बेला निर्माणाधीन संरचना प्रयोगविहीन बनेको हो।
प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र शिवसताक्षी नगरपालिका को लागत साझेदारीमा आर्थिक वर्ष २०८०/०८१ मा कवर्डहल निर्माण सुरु गरिएको थियो। वडा कार्यालय नजिकै स्थानीय दाताले उपलब्ध गराएको जग्गामा प्रदेश सरकारको २५ लाख रुपैयाँ र नगरपालिकाको ७ लाख रुपैयाँ गरी कुल ३२ लाख रुपैयाँ लगानी गरिएको थियो। तर बजेट अभाव र सम्बन्धित निकायको उदासीनताका कारण निर्माण कार्य अधुरै रोकिएको स्थानीय जनप्रतिनिधिहरूले बताएका छन्।
वडा नं. ६ का वडाध्यक्ष मनोज खुलाल का अनुसार निर्माण गरिएका फलामे पोलमा खिया लाग्न थालेको छ भने संरक्षण अभावमा कवर्डहल आसपासको क्षेत्र गौचरनजस्तै बनेको छ। उनले युवालाई खेलकुदमार्फत लागुऔषध दुर्व्यसन तथा अन्य कुलतबाट टाढा राख्ने उद्देश्यले योजना सुरु गरिएको भए पनि निर्माण अधुरै रोकिँदा युवामा निराशा बढेको बताए।
स्थानीय तहले उक्त कवर्डहललाई भलिबल, ब्याडमिन्टन, कबड्डी लगायत खेल गतिविधिको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य राखेको थियो। वर्षायाम र हिउँदमा समेत नियमित खेल सञ्चालन गर्न सकिने बहुउद्देश्यीय संरचना बनाउने योजना भए पनि निर्माण सम्पन्न नहुँदा उद्देश्य अधुरै रहेको वडाध्यक्ष खुलालको भनाइ छ।
उनले गाउँस्तरमा यस्ता खेल पूर्वाधारले युवामा अनुशासन, नेतृत्व क्षमता र सामूहिक भावना विकास गर्न सहयोग पुग्ने बताए। खेल गतिविधिमा युवाको सहभागिता बढे सामाजिक विकृति, झैझगडा तथा कुलत नियन्त्रणमा समेत सकारात्मक प्रभाव पर्ने उनको दाबी छ।
नगरपालिकाका इन्जिनियर उत्तम बराल ले अधुरो संरचना सम्पन्न गर्न थप करिब ४० लाख रुपैयाँ आवश्यक पर्ने जानकारी दिए। उनका अनुसार आवश्यक बजेट उपलब्ध भए आधुनिक सुविधा सहित कवर्डहल निर्माण सम्पन्न गर्न सकिनेछ।
स्थानीयवासीले समयमै योजना सम्पन्न गरी संरचना सञ्चालनमा ल्याउन सम्बन्धित निकायसँग माग गरेका छन्। उनीहरूका अनुसार लामो समयसम्म परियोजना अलपत्र पर्दा सरकारी योजनाप्रति नागरिकको विश्वास कमजोर हुँदै गएको छ।