विराटनगर – देउखुरीकी २० वर्षीया रक्षा कुमारी यादव आज हजारौँ छोरीहरूको आशा र समाजका लागि अनुकरणीय उदाहरण बनेकी छन्। जहाँ सानैमा छोरीको बिहे गरिदिने चलन अझै गहिरो छ, त्यही समाजबाट उनी सामुदायिक विद्यालयकी प्रधानाध्यापक बनेर उदाएकी हुन्।
किसान परिवारमा जन्मिएकी रक्षा आर्थिक अभाव र सामाजिक सोचका बाबजुद पनि पढाइबाट विचलित भइनन्। परिवारको सीमित आम्दानी, छोरीले धेरै पढ्नु पर्दैन भन्ने मानसिकता र जिम्मेवारीको चापका बीच पनि उनले शिक्षालाई आफ्नो मुख्य बाटो बनाइन्। मेहनत, आत्मविश्वास र परिवारको साथले उनले असम्भवलाई सम्भव बनाइन्।
सानो उमेरमै विद्यालयको नेतृत्व सम्हाल्नु केवल पदको कुरा होइन, दृष्टि र जिम्मेवारीको प्रमाण भएको रक्षा बताउँछिन्। उनको कथाले उमेर होइन, सोच र प्रतिबद्धता ठूलो हुनुपर्छ भन्ने सन्देश दिन्छ।
रक्षाले छोरीलाई पढाउनुपर्छ, अवसर दिनुपर्छ भन्ने कुरा भाषणमा होइन, व्यवहारमै देखाएकी छन्। उनी आज केवल प्रधानाध्यापक मात्र होइनन्, समाजमा परिवर्तन सम्भव छ भन्ने जीवित उदाहरण बनेकी छन्।
युवालाई नेतृत्व र छोरीलाई शिक्षा दिनु नै समृद्ध समाजतर्फको बाटो हो भन्ने सन्देश रक्षा कुमारी यादवको यात्राले स्पष्ट रुपमा देखाएको छ।