विराटनगर- नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आगामी फागुन २१ गते हुने संसदीय निर्वाचनमा सहभागी हुन पार्टीले औपचारिक तयारी सुरु गरिसकेको बताएका छन्।
‘नेपाली कांग्रेस र नेपालको यात्रा—हिजो, आज, भोलि: चुनौती, अवसर र सम्भावना’ विषयमा युवासँग संवाद कार्यक्रमअन्तर्गत आज विराटनगरमा आयोजित अन्तर्क्रिया कार्यक्रममा बोल्दै नेता कोइरालाले निर्वाचनमा सक्रिय सहभागिताका लागि पार्टीको केन्द्रीय समितिले निर्णय गरिसकेको जानकारी दिए।
उनले भयरहित र निष्पक्ष निर्वाचनका लागि सरकारले शान्ति सुरक्षा मजबुत बनाउनुपर्नेमा जोड दिए। जघन्य अपराधमा संलग्न करिब पाँच हजार फरार कैदी पक्राउ गर्नुपर्ने, लुटिएका हातहतियार बरामद गर्नुपर्ने र यसबाट प्रहरीको मनोबल उच्च बनाउने कार्य गर्नुपर्ने सुझाव उनले दिए।
“वर्तमान अवस्थामा निर्वाचनबाहेक अर्को कुनै विकल्प छैन,” उनले भने, “तोकिएको समयमा निर्वाचन सम्पन्न गर्न सरकारले आवश्यक सबै काम जिम्मेवारीपूर्वक गर्नुपर्छ।”
नेता कोइरालाले सुशासन, भ्रष्टाचार नियन्त्रण, पारदर्शिता र जवाफदेहिता कायम गर्न युवापुस्ताको प्रभावकारी सहभागिता आवश्यक रहेको बताए। उनका अनुसार सबै राजनीतिक दलले स्थानीय तहमा ४० प्रतिशत, प्रदेश तहमा ३० प्रतिशत र सङ्घीय तहमा २० प्रतिशत युवाको प्रतिनिधित्व सुनिश्चित गर्न सके मुलुकमा सकारात्मक परिवर्तन सम्भव हुनेछ।