विराटनगर – मधेस प्रदेश सभाका नवनिर्वाचित सभामुख रामआशिष यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। प्रदेश सभाबाट आइतबार सभामुखमा निर्वाचित भएका यादवलाई मधेस प्रदेशका प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले शपथ ग्रहण गराएका हुन्।
आइतबारै बसेको प्रदेश सभाको बैठकमा मत विभाजन प्रक्रियामार्फत यादव सभामुख पदमा निर्वाचित भएका थिए। निर्वाचनमा प्रदेश सभामा उपस्थित कुल ९६ सदस्यहरूमध्ये यादवको पक्षमा ७२ मत परेको थियो भने विपक्षमा २४ मत खसेको थियो।
सभामुख पदका अर्का उम्मेदवार नेकपा एमालेका त्रिलोकी प्रसाद यादव थिए। तर रामआशिष यादवले स्पष्ट बहुमत प्राप्त गरेपछि त्रिलोकी प्रसादको प्रस्तावमाथि मतदान गर्न आवश्यक परेन।
सभामुख यादवलाई नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) तथा नागरिक उन्मुक्ति पार्टीले समर्थन गरेका थिए।
विपक्षमा भने नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेपाल संघीय समाजवादी पार्टीले मतदान गरेका थिए।
शपथ ग्रहणपछि सभामुख यादवले संविधान, संसदीय मर्यादा र निष्पक्षताको पालना गर्दै प्रदेश सभालाई प्रभावकारी र समावेशी रूपमा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।