

विराटनगर – कोजाग्रत पूर्णिमाको अवसरमा मोरङ र सुनसरीका थारु समुदायमा महान् पर्व गोठाले हर्षोल्लासका साथ मनाइँदैछ । परम्परागत रूपमा हरेक वर्ष यो दिन थारुहरूले विधिपूर्वक पूजा–आराधना गरी नयाँ धानबाट बनेको परिकार बगिया र माछाको विशेष परिकार बनाएर कुलदेवताको पूजा गर्ने प्रचलन रहिआएको छ ।

(कटहरी वडा नम्बर १ का वडाध्यक्ष हरि राजवंशी प्रोग्रामको स्टेजमा बसी सिसिटिभी नियाल्दै)
कटहरीका थारु अगुवा कपुरलाल माझीका अनुसार गोठाले पर्वको तयारी र उत्सवमा मोरङ र सुनसरीका थारु समुदाय व्यस्त छन् । उनका भनाइमा यो पर्व करिब पाँच दशकअघि महामारी फैलिएको समयमा समुदायको संरक्षण र सन्तान प्राप्तिका कामनासहित देवीको आराधना गर्न सुरु गरिएको हो । “त्यस समय जाति नै लोप हुने अवस्थामा पुगेपछि देवीको पूजा आरम्भ गरिएको थियो,” माझीले भने, “त्यही परम्परा अहिले पनि जीवित छ । सामूहिक पूजा, पोखरी–कुवामा माछा चढाउने र नयाँ धानका परिकार खाने चलन निरन्तर जारी छ ।”
पूर्व सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले मोरङ र सुनसरीका थारुहरूको मोरङ्गिया संस्कृति नेपालकै मौलिक सांस्कृतिक सम्पदा भएको बताउँदै गोठाले पर्वले थारु समुदायको सामाजिक एकता र सांस्कृतिक गौरवलाई सुदृढ पारेको बताए ।
थारु समुदायमा गोठाले केवल धार्मिक आस्था मात्र होइन, सामुदायिक ऐक्यबद्धता र सांस्कृतिक पहिचानको प्रतीकका रूपमा पनि स्थापित भएको छ ।