

विराटनगर — नेपाल केरा उत्पादक महासङ्घले आगामी दशैं, तिहार र छठ पर्वका लागि नेपालमै उत्पादित केरा पर्याप्त मात्रामा उपलब्ध रहेको भन्दै विदेशी केरा आयात नगर्न आग्रह गरेको छ।
महासङ्घका केन्द्रीय अध्यक्ष विष्णुहरि पन्तले बुधबार सबै फलफूल तथा तरकारी थोक व्यवसायी सङ्घलाई पत्राचार गर्दै चाडपर्वको माग धान्न सक्ने उत्पादन भएको स्पष्ट पारेका हुन्। उनका अनुसार, हाल देशभर उत्साहजनक मात्रामा केरा उत्पादन भएको छ तर विदेशी केरा निर्वाध रूपमा आयात भइरहेकाले यसले किसान र राष्ट्रिय अर्थतन्त्रमा नकारात्मक असर पारिरहेको छ।
महासङ्घले असोज ६ गतेपछि भारतबाट कुनै व्यापारीले केरा आयात नगर्न वा नगराउन अनुरोध गरेको छ। अनुरोध बेवास्ता गर्दै बलजफ्ती आयात गरेमा त्यसबाट उत्पन्न हुने क्षतिको जिम्मेवारी महासङ्घले नलिने चेतावनी दिएको छ।
यस्तै, चितवन, कैलाली, कञ्चनपुर, बर्दिया र नवलपरासीका केरा उत्पादक समितिका अध्यक्ष तथा प्रतिनिधिहरूले पनि संयुक्त विज्ञप्ति जारी गर्दै तत्काल आयात रोक्न माग गरेका छन्। उनीहरूले यस्तो कदमले वैदेशिक व्यापार घाटा कम गर्न, रोजगारी सिर्जना गर्न र किसानलाई संरक्षण गर्न सहयोग पुग्ने बताएका छन्।