

विराटनगर – आज देशभर भगवान विश्वकर्माको पूजा पर्व श्रद्धा र भक्तिभावका साथ मनाइँदैछ। सृष्टिकर्ता तथा उद्योग, कलाकौशल र प्रविधिका देवता मानिने विश्वकर्माको यस दिन विशेष गरी कारखाना, कार्यशाला, गाडी र विभिन्न मेशिनरी उपकरणहरूको पूजा गर्ने परम्परा रहिआएको छ।
यस अवसरमा मजदुर, प्राविधिक, उद्यमी तथा श्रमिक वर्गले विश्वकर्माको आराधना गर्दै आफ्नो श्रम, सीप र कार्यमा निरन्तर प्रगतिको कामना गरेका छन्। पूजा विशेषगरी कारखाना, उद्योगधन्दा, निर्माण व्यवसाय र यातायात क्षेत्रका कामदार र व्यवसायीले उत्साहपूर्वक मनाएका छन्।
यस पर्वले श्रमप्रतिको सम्मान र सीपप्रतिको गर्वलाई अझ बढाउने अपेक्षा गरिएको छ। शुभेच्छा सन्देशहरूमा “विश्वकर्मा पूजाले सबैमा श्रमप्रतिको सम्मान र सीपप्रतिको गर्व बढाओस्” भन्ने कामना व्यक्त गरिएको छ।