

विराटनगर — लामो राजनीतिक रस्साकस्सीबीच आज प्रतिनिधिसभा विघटन र अन्तरिम सरकार गठन गर्ने सहमति जुटेको छ। शुक्रबार दिनभर भएको छलफलपछि प्रमुख दलका शीर्ष नेताहरूबीच सहमति बनेको हो।
शीतलनिवास स्रोतका अनुसार, पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व दिने निर्णयसँगै प्रतिनिधिसभा विघटन गर्ने सहमति भएको छ। यसअघि राष्ट्रपति रामचन्द्र पौडेल कार्कीलाई प्रधानमन्त्री बनाइएपछि मात्रै संसद विघटन गर्ने अडानमा अडिएका थिए। तर, आन्दोलनरत युवाहरूले तत्काल शीतलनिवास घेराउ गर्ने चेतावनी दिएपछि पौडेल आफ्नो अडानबाट पछि हटेका हुन्।
राष्ट्रपति पौडेलले दलका शीर्ष नेताहरूसँग छलफल गर्दै प्रतिनिधिसभा विघटन गर्ने निर्णयमा पुगिसकेको र त्यसलगत्तै सुशीला कार्कीलाई प्रधानमन्त्रीमा शपथ गराउने तयारी भएको बताएका छन्।
यससँगै अब देश अन्तरिम सरकारको नेतृत्वमा प्रवेश गर्ने भएको छ भने आगामी राजनीतिक मार्गचित्रबारे प्रमुख दलहरूले छिट्टै कार्ययोजना सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।