

विराटनगर-कुनै बेला व्यस्त हुने गरेको रामेछाप विमानस्थल पछिल्लो समय सुनसान बनेको छ । काठमाडौँ नजिकैको वैकल्पिक विमानस्थलका रूपमा चिनिने यहाँ अहिले नियमित उडान नहुँदा स्थानीय नागरिकहरू हवाई सेवाबाट वञ्चित भएका छन् ।
सोलुको लुक्ला जान विदेशी पर्यटकलाई मात्र प्रयोग हुने यो विमानस्थल पर्यटन सिजनबाहेक पूर्णतया सुनसान हुने गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बढी व्यस्त हुने बेला मात्रै पर्यटकलाई सडकमार्ग हुँदै मन्थली ल्याइने र त्यहाँबाट लुक्ला पुर्याइने गरेको छ । तर, दशैँ–तिहार जस्ता चाडपर्व नजिकिँदै गर्दा पनि स्थानीयका लागि कुनै एयरलाइन्सले अग्रिम टिकट बिक्री खुला नगरेको गुनासो छ ।
विमानस्थल वरपर रहेका होटल तथा पसलहरू समेत पर्यटक सिजनबाहेक सुनसान हुने गरेका छन् । “जिल्लामा विमानस्थल हुँदाहुँदै पनि स्थानीयलाई हवाई सेवा नपाउनु दुःखद छ,” मन्थलीका वीरेन्द्र श्रेष्ठले बताए । उनका अनुसार बिपी राजमार्ग र पुष्पलाल मार्ग दुवै जोखिमपूर्ण भएका कारण बिरामी र यात्रु काठमाडौँ पठाउन निकै समस्या हुने गरेको छ ।
मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठले पनि नियमित उडानका लागि संघीय सांसदसहित पर्यटन मन्त्रालयलाई पटक–पटक ध्यानाकर्षण गराइएको तर प्रत्यक्ष सुनुवाइ नभएको जनाए । “मन्त्रीबाट सकारात्मक आश्वासन त पाइयो, तर व्यवहारमा केही नहुँदा नागरिकले निर्वाचित प्रतिनिधिलाई विश्वास गर्न छाडेका छन्,” उनले भने ।
पूर्वराज्यमन्त्री एवं सांसद पूर्णबहादुर तामाङका अनुसार गत वर्ष बाढीले सडक अवरुद्ध हुँदा छोटो समयका लागि विमानस्थल प्रयोगमा आएको थियो । अहिले भने दशैँअघि नै नागरिकलाई समेत सुविधा हुने गरी जहाज सञ्चालनका लागि पहल भइरहेको उनले बताए ।
पर्यटन सिजनमा मात्र सीता, तारा र समिट एयरले दैनिक ६० देखि ६५ वटासम्म उडान गर्ने गरेका छन् । तर, स्थानीय गुञ्जबहादुर श्रेष्ठका अनुसार “ती उडानमा पनि आलोपालो प्रणालीमार्फत रामेछापका नागरिकलाई प्राथमिकतामा राखी सेवा दिनुपर्ने” आवश्यकता रहेको छ ।
लामो संघर्षपछि कालोपत्रे गरिएको रामेछाप विमानस्थल अहिले पर्यटक सिजनबाहेक सुनसान बनेको छ ।