कोसी कटानको बगरबाट ११२० किलो गाँजा बरामद, भारत तस्करीको तयारीमा रहेको आशंका

Logo
जय कामत प्रकाशित बुधबार, जेठ २२, २०८२

विराटनगर– कोसी नदीको कटान क्षेत्रको बगरमा लुकाइएको अवस्थामा प्रहरीले ठूलो मात्रामा गाँजा फेला पारेको छ। भारत तस्करीको तयारीमा रहेको आशङ्कासहित गरिएको छानबिनमा प्रहरीले ३८ बोरा गाँजा बरामद गरेको हो, जसको तौल १ हजार १२० किलो रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

गोप्य सूचनाका आधारमा मंगलबार साँझ ५ बजे प्रहरी टोली परिचालन गरिएको थियो। जिल्ला प्रहरी कार्यालय सुनसरीको नेतृत्वमा प्रहरी चौकी घुस्की, इलाका प्रहरी कार्यालय देवानगञ्ज र सुरक्षा बेस वसन्तपुरबाट खटिएको संयुक्त टोलीले सुनसरीको हरिनगरा गाउँपालिका–५ र ६ को सीमामा पर्ने कोसी कटानको बगर क्षेत्रबाट गाँजा फेला पारेको हो।

प्रहरीका अनुसार ३८ वटा प्लास्टिकका बोरामा प्याक गरिएको गाँजा खोलाको किनारमा बालुवामुनि लुकाएर राखिएको थियो। प्रहरीले प्रारम्भिक अनुसन्धानबाट भारत तस्करीका लागि पूर्वतयारीस्वरूप गाँजा अस्थायी रूपमा उक्त क्षेत्रमा गाडिएको अनुमान गरेको छ। बरामद स्थल भारतको सीमासँग अत्यन्तै नजिक पर्छ, जसले तस्करीको सम्भावनालाई बल दिएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी योगराज खतिवडाले यस किसिमको ठूलो परिमाणमा गाँजा बरामद हुनु गम्भीर विषय भएको उल्लेख गर्दै तस्कर गिरोहले खोलाको बगरलाई अस्थायी गोदामका रूपमा प्रयोग गरेको हुनसक्ने बताए। उनका अनुसार बरामद गाँजा आवश्यक कानुनी प्रक्रिया पूरा गरी प्रहरी कार्यालयमै राखिएको छ भने तस्करहरूको पहिचान तथा पक्राउका लागि अभियान तीव्र बनाइएको छ।

झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा र धनुषा जस्ता जिल्लामा भारतसँग खुला सीमा भएका कारण लागूऔषध ओसारपसार रोक्न चुनौती थपिएको छ। यद्यपि कोशी प्रदेश प्रहरीले पछिल्ला दिनमा यस्ता गैरकानुनी गतिविधिमाथि निगरानी र कडाइका साथ अभियान सञ्चालन गरिरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस

Sushant Khabar | sushantkhabar@gmail.com
हाम्रो बारे

दर्ता को प्रक्रियामा छ।
कम्पनि दर्ता न. : ३२२७१५/०८०/०८१
यस अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

 

हाम्रो टिम

अध्यक्ष : जय कामत

सम्पर्क

नन्दनी मिडिया प्रा. लि.
9842098878
sushantkhabar@gmail.com
बिराटनगर मोरङ , कोशी प्रदेश