

विराटनगर – निषेधित क्षेत्र तोडेर प्रदर्शन गरेका राप्रपा नेपालका अध्यक्ष कमल थापासहित ७ जना आज रिहा भएका छन्। उनीहरूलाई आज बिहान काठमाडौँको नक्सालस्थित नारायणचौरबाट प्रहरीले पक्राउ गरेको थियो।
रिहा भएका नेताहरूमा कमल थापा, राप्रपाका सांसद दीपक सिंह, शिला राना, राकेश बस्नेत, रामचन्द्र लामिछाने, विनोद कपाली र सरोज तिमिल्सिना रहेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी अपिलराज बोहोराका अनुसार उनीहरूलाई जिम्मा जमानीमा छाडिएको हो।
प्रहरीका अनुसार सांसद दीपक सिंह कमल थापालाई भेट्न प्रहरी परिसर पुगेका थिए। सो क्रममा उनले सुरक्षाकर्मीमाथि दुर्व्यवहार गरेको आरोपमा उनलाई परिसरबाटै पक्राउ गरिएको थियो।
यता, पक्राउ परेकामध्ये डा. राजीव झा भने हालसम्म थुनामै छन्। एसपी बोहोराका अनुसार डा. झाले रक्सी सेवन गरेर प्रहरीमाथि अभद्र व्यवहार गरेका थिए। स्वास्थ्य परीक्षणबाट रक्सी सेवन गरेको पुष्टि भएपछि उनलाई थप अनुसन्धानका लागि थुनामा राखिएको जनाइएको छ।
राप्रपा निकट राजावादी समूहले आज निषेधित क्षेत्र तोडेर राजतन्त्रको पुनःस्थापनाको माग गर्दै प्रदर्शन गरेका थिए। यसै क्रममा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएका थिए।