

विराटनगर — सुनसरी जिल्ला अन्तर्गत धरान उप-महानगरपालिका वडा नम्बर १५ स्थित शितल मार्गमा प्रहरीले लागू औषध कारोबारमा संलग्न रहेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ।
गोप्य सूचनाका आधारमा वडा प्रहरी कार्यालय धरानबाट गएको प्रहरी टोलीले शुक्रबार राति ११:३० बजे बिरश थापाको घरमा डेरा गरी बस्ने तीन जनाको कोठामा खानतलासी गर्दा ठूलो मात्रामा लागू औषध फेला परेको हो।
पक्राउ परेकामा भोजपुर घर भई धरान बस्दै आएका ३० वर्षीय सुजन श्रेष्ठ, १७ वर्षीय अंगत श्रेष्ठ र ३१ वर्षीय सागर राई रहेका छन्। उनीहरूले डेरामा लुकाईछिपाई राखेको अवस्थामा विभिन्न प्रकारका लागू औषधहरू बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बरामद गरिएका लागू औषधहरूमा ४,९३५ क्याप्सुल ट्रामाडोल, ५,०६० चक्की कोलिवान, ९४ चक्की स्पास्पेन, २० चक्की डिकोलिक, १९० चक्की नाइट्राजेपाम, १६ चक्की एरोमिन्स लगायत गरी जम्मा १०,३१५ चक्की/क्याप्सुल छन्। साथै, १.७६० ग्राम ब्राउन सुगर समेत बरामद गरिएको छ।
पक्राउ परेका व्यक्तिहरूलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धरानमा राखिएको छ। प्रहरीले लागू औषध कारोबारमा संलग्न अन्य व्यक्तिहरूको खोजी पनि तीव्र पारेको जनाएको छ।