

विराटनगर– सुनसरीको बर्जु गाउँपालिका वडा नम्बर ३, नहर चोक नजिकै इलाका प्रहरी कार्यालय सितागंजको टोलीले ठूलो परिमाणमा लागू औषध (गाँजा) बरामद गरेको छ।
सोमबार राति करिब ९:१० बजे प्राप्त गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सितागंजबाट प्रबिन भट्टराईको कमाण्डमा खटिएको प्रहरी टोलीले भिमपुरबाट अमडुवा तर्फ जाँदै गरेको प्रदेश १–०२–००२ च ५१२६ नम्बरको पिकअप गाडीलाई रोकेर चेकजाँच गरेको थियो।
जाँचको क्रममा पिकअप गाडीको डालामा लुकाइ छिपाइ ल्याइएको ६ बोरा लागू औषध (गाँजा), कुल १९९.३ केजी बरामद गरिएको छ। सोही गाडीका चालक धनकुटा नगरपालिका–९ निवासी ३३ वर्षीय उद्धव भण्डारी र सहचालक ३० वर्षीय कबिराज राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
उक्त गाडी, गाँजा, र पक्राउ परेकाहरुलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दुहबीमा पठाएको छ। घटनास्थल इलाका प्रहरी कार्यालय सितागंजबाट करिब ६ किलोमिटर पूर्व–दक्षिणतर्फ पर्छ।
घटनाको थप अनुसन्धान भइरहेको सितागंज प्रहरी प्रमुख प्रबिन भट्टराईले जनाए ।