

विराटनगर — मोरङको सुन्दरहरैँचा नगरपालिका–१ स्थित हरैँचा बजारमा टिपरको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ।
मृतक सुनसरी दुहबी–९ निवासी ४० वर्षीय महमद हमिद मियाँ रहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिएका छन्।
विराट चोकबाट दक्षिणतर्फ आइरहेको ना १ क ६२७० नम्बरको टिपरले दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको प्रदेश १–०२–०५३ प ७०१० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा घटनास्थलमै मियाँको मृत्यु भएको हो।
घटनापछि आक्रोशित स्थानीयले मृतकको शव उठाउन मानेका छैनन् भने बजार क्षेत्रमा स्थिति तनावग्रस्त बनेको प्रहरीले जनाएको छ।
प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिइसकेको र घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान अगाडि बढाइएको जानकारी दिएको छ।