विराटनगर :- सिटी सफारीलाई सुरक्षित, अनुशासित, जिम्मेवार र मर्यादित रूपमा सञ्चालन गर्ने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको अग्रसरतामा सञ्चालन गरिएको “सुरक्षित चालक” अभियानअन्तर्गत एक इमान्दार सिटी सफारी चालकलाई सम्मान गरिएको छ।

अभियानमा दर्ता भएका सुरक्षित चालक नम्बर ९७० रमेश कामतले आफ्नो सिटी सफारीमा छुट्न गएको यात्रुको ल्याप्टप, नगद रु. ३० हजार तथा एटीएम कार्डहरू सहितको झोला फेला पारी सुरक्षित रूपमा सम्बन्धित यात्रुलाई फिर्ता गरेका थिए।
उनले उच्च इमान्दारिता, नैतिकता र मानवताको उदाहरण प्रस्तुत गर्दै जिम्मेवारीपूर्ण व्यवहार देखाएको भन्दै बिहीबार आयोजित एक कार्यक्रमबीच जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले प्रशंसा पत्र प्रदान गरी सम्मान गरेको हो।

ट्राफिक प्रहरीले सुरक्षित चालक अभियानमार्फत सवारी चालकहरूमा जिम्मेवारीबोध, अनुशासन र सेवामुखी भावना विकास गर्ने उद्देश्य राखिएको जनाएको छ।