

विराटनग:- उर्लाबारी–१ चारघरेको बाँस झ्याङमा फेला परेको दुर्लभ वन्यजन्तु हिँउ चितुवालाई उद्धार गरी कोशी टप्पु बन्यजन्तु आरक्षण केन्द्र लगिएको छ । मंगलबार बिहानको समयमा स्थानियले बास झ्याङमा हिउ चितुवा देखापरेपछि त्रसित भएका थिए । स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, सव वन डिभिजन कार्यालय मंगलबारेको टोलीले दिनैभरि हिँउ चितुवालाई बास झ्याङमा पहरा दिएर गाउँ पस्नबाट रोकेका थिए । चितुवालाई नियन्त्रणमा लिन कोशी टप्पु वन्यजन्तु आरक्ष र राष्ट्रिय प्रकृति संरक्षण कोषबाट वन्यजन्तु विज्ञको संयुक्त टोली उर्लाबारी आएका थिए । बाँसको झ्याङमा लुकेर बसेको अवस्थामा वन्यजन्तु विज्ञको टोलीले डार्ट (औषधिजन्य सुई) प्रहार गरी बेहोस बनाएर चितुवालाई नियन्त्रणमा लिएको सब डिभिजन वन कार्यालय मंगलबारेका प्रमुख नवीनराज दाहालले बताए ।पहिलो पटक चितुवालाई प्रहार गरिएको बेहोस बनाउने औषधिको प्रयोगले काम गरेन । त्यसपछि चितुवा भागेको थियो । स्थानीयले चितुवालाई लखेटेका थिए । त्यसपछि पुनः अर्को बास झ्याङमा चितुवा पसेको थियो । त्यसपछि पुनः बेहोस बनाउने औषधिको प्रयोग गरि चितुवा नियन्त्रणमा लिएका थिए ।प्राकृतिक वासस्थान छाडेर गाउँ पसेको अन्दाजी ४० किलोग्राम तौलको वयस्क भाले हिँउ चितुवा रहेको जनाइएको छ । प्राकृतिक वासस्थान छाडेर वनबाट गाउँ पसेको चितुवालाई स्थानीयले घेरा हालेका थिए । स्थानीयले घेरा हालेपछि भाग्ने बाटो नपाएर चितुवा बाँसको झ्याङमा पसेको थियो ।जंगलमा मानवीय गतिविधि बढेपछि र खानेकुराको अभाव भएपछि आहाराको खोजीमा चितुवा गाउँ पसेको अनुमान छ । चितुवाले कुनै क्षति भने गरेन । तत्काल नियन्त्रणमा लिइएका कारण चितुवाले कुनै क्षति गर्न नपाएको स्थानीयले बताएका छन् । विशेष गरी हिँउ चितुवा पहाडी भेगमा पाईने जन्तु भएपनि चुरे पहाडदेखि करिब २० किलोमिटर टाढा रहेको उर्लाबारी कसरी आईपुग्यो भन्ने एकिन भने हुन सकेको छैन ।