

विराटनगर : गोरखा जिल्ला प्रशासन कार्यालयले आमाको नामबाट नागरिकताको प्रमाणपत्र दिन सुरु गरेको छ । मंगलबार भीमसेन थापा गाउँपालिका–१ का मञ्जित वानियाँलाई आमाको नामबाट नागरिकता दिएर वितरण कार्यको थालनी गरिएको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले बताए ।
‘बुबाको पहिचान नभएका तर अमाको पहिचान भएका सन्तान हरुले अब गोरखा मा पाउने भएका छन् ।
आवश्यक प्रक्रिया र कागजात पुगेकाहरुले अबका दिनबाट प्रशासनमा आएर आमाको नामबाट नागरिकता बनाउन सक्ने प्रजिअ भुसालले जानकारी दिए ।
नागरिकता लिनका लागि जन्मदर्ता, शैक्षिक प्रमाणपत्र, आमाको नागरिकता, बुबा नभएको भनी सम्बन्धित स्थानीयबाट गरिएको मुचुल्का र अनुसूची फारम भर्नुपर्ने प्रशासन कार्यालयले जनाएको छ । त्यस्तै पतिको पहिचान नभएको भनी आमाले लिखित रुपमा स्वघोषणा समेत गरेको हुनुपर्ने बताइएको छ ।
छोराले पनि बाबुको पहिचान नभएको भनी लिखित स्वघोषणा गरेको हुनुपर्ने प्रजिअ भुसालले जानकारी दिए । आवश्यक परेको खण्डमा प्रहरी मुचुल्का समेत माग्न सकिने उनको भनाइ छ ।