विराटनगर — नेपाली कांग्रेसले १५ औँ महाधिवेशन आगामी पुस २६, २७ र २८ गते काठमाडौँमा गर्ने निर्णय गरेसँगै पार्टीभित्र नेतृत्व चयनका समीकरणहरू तीव्र बन्न थालेका छन्। डेढ महिनादेखिको आन्तरिक तयारीपछि सार्वजनिक गरिएको कार्यतालिकाले नयाँ शक्ति–सन्तुलनको संकेत दिएको छ।
कार्यतालिका सार्वजनिक भएलगत्तै सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कासँग भेट गरी महाधिवेशनमा सघाउने आश्वासन दिएका छन्। देउवाले खड्कालाई सम्भावित उत्तराधिकारीका रूपमा अघि बढाउन तयार भएको बताउँदै खड्का पक्षले सभापतिका लागि तयारी तीव्र पारेको छ। २०७८ को महाधिवेशनमा देउवाका प्रमुख सहयोगी बनेका खड्का अहिले विभिन्न वरिष्ठ नेताहरूसँग परामर्शमा जुटिरहेका छन्।
देउवा समूहले कृष्ण सिटौला, विमलेन्द्र निधि, प्रकाशमान सिंहलगायत शीर्ष नेताहरूसँग समन्वय गर्दै खड्कालाई संस्थापनको साझा उम्मेदवार बनाउने पहल गरिरहेको बताइएको छ। यता, निधि, सिटौला, सिंह, विजय गच्छदार, डा. प्रकाशशरण महत, डा. शशांक कोइराला र गोपालमान श्रेष्ठलगायत सातजना पूर्वपदाधिकारी पनि सभापतिमा चासो राखिरहेका छन् तर उनीहरूले देउवा समक्ष औपचारिक दाबी भने प्रस्तुत गरेका छैनन्।
उता संस्थापन इतर पक्षबाट डा. शेखर कोइराला र महामन्त्री गगन थापाले सभापतिको उम्मेदवारी सार्वजनिक गरिसकेका छन्। नेताहरूबीच सहमति खोज्ने प्रयास जारी रहे पनि कांग्रेस नेतृत्वको अन्तिम स्वरूप महाधिवेशन नजिकिँदै झन् प्रष्ट हुँदै जाने विश्लेषकहरूको अनुमान छ।