‘जेनजी’ आन्दोलनको असर : ६ हजार कैदी अझै फरार, प्रहरीको उच्च निगरानी

Logo
जय कामत प्रकाशित आइतबार, आश्विन १२, २०८२

काठमाडौं । गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ युवाहरूको आन्दोलनका क्रममा देशभरका विभिन्न कारागारबाट भागेका कैदीबन्दीमध्ये अझै करिब ६ हजार जना फरार रहेको प्रहरीले जनाएको छ। दशैं, तिहार, छठजस्ता चाडपर्वको समयमा उनीहरूले सुरक्षामा चुनौती निम्त्याउन सक्ने भन्दै प्रहरीले उच्च सतर्कता अपनाएको छ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक (डीआईजी) विनोद घिमिरेका अनुसार हालसम्म झण्डै ८ हजार जना कैदी कारागार फर्किसकेका छन् भने बाँकी फरार कैदीहरूको खोजी कार्य तीव्र पारिएको छ। “भागेकामध्ये कोही डाँका, चोर र अपराधी मानसिकता भएका छन्,” डीआईजी घिमिरेले भने, “उनीहरूले गाउँ फर्केर बदलाको भावना राख्न सक्छन्, त्यसैले नागरिक पनि सतर्क रहनुपर्छ।”

प्रवक्ता घिमिरेले जानकारी दिएअनुसार केही फरार कैदीहरू पहिल्यैदेखि आपराधिक पृष्ठभूमिमा रहेका भएकाले तीले चाडपर्वको समयमा आपराधिक गतिविधि गर्न सक्ने आशंका छ। “गाउँमा बदलाको भावना लिएर जानेहरूबारे सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा पत्राचार गरिएको छ। प्रहरीले सम्भावित घटनाको पूर्वानुमानसहित चनाखो निगरानी राखेको छ,” उनले भने।

प्रहरीले फरार कैदीहरू देखिएमा वा उनीहरूका गतिविधिबारे थाहा पाउँदा नजिकको प्रहरी कार्यालय वा सुरक्षानिकायमा तुरुन्तै जानकारी गराउन आग्रह गरेको छ। “हामीले सम्बन्धित प्रहरी कार्यालयको सम्पर्क नम्बर सार्वजनिक गरेका छौं। नागरिकको सहकार्यले जोखिम न्यून पार्न सकिन्छ,” डीआईजी घिमिरेले भने।

कारागार व्यवस्थापन विभागले पनि फरार कैदीहरूलाई यही असोज २० गतेभित्र स्वेच्छिक रूपमा फर्किन आग्रह गरेको छ। यसैबीच केही फरार कैदीहरू भारततर्फ भाग्ने क्रममा भारतीय प्रहरीले पक्राउ गरेर फिर्ता गरेको र अन्य केहीलाई नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिइएको छ।

प्रहरीका अनुसार केही कैदीहरू स्वेच्छिक रूपमा फर्केर कारागार भित्रिसकेका छन् भने बाँकीको खोजी कार्य जारी छ। “हामी गलत गतिविधिमा संलग्न हुनेहरूमाथि जुनसुकै समयमा पनि कडा कारबाही गर्छौं,” घिमिरेले चेतावनी दिए।

‘जेनजी’ आन्दोलनको लहरसँगै देशभरका कारागारहरूमा उत्पन्न असहज परिस्थितिपछि भागेका कैदीहरू अहिलेको चाडपर्वको समयलाई अवसर मानेर आपराधिक गतिविधिमा संलग्न हुनसक्ने भन्दै प्रहरीले व्यापक निगरानी थालेको छ। सुरक्षा सजगता र नागरिकको सतर्कतामै अबको सुरक्षा वातावरण निर्भर रहने देखिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस

Sushant Khabar | [email protected]
हाम्रो बारे

दर्ता को प्रक्रियामा छ।
कम्पनि दर्ता न. : ३२२७१५/०८०/०८१
यस अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

 

हाम्रो टिम

अध्यक्ष : जय कामत

सम्पर्क

नन्दनी मिडिया प्रा. लि.
9842098878
[email protected]
बिराटनगर मोरङ , कोशी प्रदेश