

विराटनगर — नख्खु कारागारमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जेनजी (GEN-Z) समूहले सोमबारदेखि सुरु गर्न लागेको प्रदर्शनप्रति ऐक्यबद्धता जनाएका छन्। लामिछानेले जेलबाटै एक विज्ञप्ति जारी गर्दै जेनजीलाई समर्थन जनाउँदै उनीहरूको आन्दोलनले नयाँ इतिहास लेख्ने विश्वास व्यक्त गरेका छन्।
विज्ञप्तिमा उनले भनेका छन्, “तपाईंहरुमध्ये धेरैको जीवनमा यो पहिलो सडक प्रदर्शन हुनुपर्छ। शासकहरूले तपाईंहरूलाई विधि र विवेकको शासन त दिएनन् नै, सामाजिक सञ्जालको सानो कुना पनि खोसे।” लामिछानेको भनाइमा, सरकार सामाजिक सञ्जाल बन्द गरेर नागरिकहरूको अभिव्यक्ति स्वतन्त्रतामा हस्तक्षेप गर्दैछ।
रास्वपा सभापतिले जेनजीको विवेक र आवेगसँग देशको इतिहास बदल्ने शक्ति रहेको उल्लेख गर्दै उनीहरूलाई संयमित र सचेत रहन पनि सुझाव दिएका छन्। “घुसपैठ हुनसक्छ, सचेत हुनुहोस्। उत्तेजित बनाउन सक्छन्, विवेक प्रयोग गर्नुहोस्। तपाईंहरूको हातबाट यो देशको इतिहास लेखिँदैछ,” विज्ञप्तिमा भनिएको छ।
प्रदर्शनको पहिलो दिनलाई उनले “नयाँ इतिहासको सुरुवात” भनेका छन् र नख्खु जेलको कालकोठरीबाट शुभेच्छा, सद्भाव र ऐक्यबद्धता प्रकट गरेका छन्।
यसअघि सरकारले टिकटक लगायतका सामाजिक सञ्जाल प्रयोगमा विभिन्न प्रतिबन्ध लगाउने निर्णय गरेपछि देशभरका युवाहरू असन्तुष्ट छन्। यिनै असन्तुष्टिहरूका कारण जेनजी समूहले प्रदर्शनको आह्वान गरेको हो।
रवि लामिछाने मिडिया काण्डसम्बन्धी अनुसन्धानको क्रममा हिरासतमा रहेका छन्। तर, जेलबाटै निरन्तर राजनीतिक सन्देश दिँदै आएका छन्।