

विराटनगर — रंगेली नगरपालिका–६ डाईनियाँस्थित भेडुवानाथ नजिकै प्रहरीले ठूलो मात्रामा लागुऔषध बरामद गरेको छ। विराटनगर र रंगेली प्रहरीले संयुक्त रूपमा गरेको अभियानमा भारततर्फबाट लुकाइ–छिपाइ नेपाल भित्र्याइँदै गरेको एक बोरा ड्रामाडोल पक्राउ गरिएको हो।
भारतको नम्बर प्लेट रहेको मोटरसाइकलमार्फत लागुऔषध नेपाल भित्र्याउने क्रममा प्रहरीले उक्त मोटरसाइकलसहित नियन्त्रणमा लिएको रंगेली प्रहरीले जनाएको छ। प्रहरीलाई देखेपछि लागुऔषध कारोबारीहरू मोटरसाइकल छाडेर फरार भएका थिए।
उनीहरूलाई पछ्याउने क्रममा केही प्रहरी धानखेतमा लड्दा सामान्य घाइते भएका छन्। फरार व्यक्तिहरूको खोजी तीव्र पारिएको र बरामद गरिएको लागुऔषध आवश्यक प्रक्रिया पूरा गरी कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ।