

विराटनगर – राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले काठमाडौँ केन्द्रित आन्दोलनको तयारी भइरहेको बताएका छन्। मंगलबार विराटनगरमा पत्रकार सम्मेलन गरेर अध्यक्ष महतोले मधेसवादी राजनीतिक दलहरू र हिमाल–पहाडका आदिवासी जनजाति मिलेर निर्णायक आन्दोलन सुरु गर्न लागेको जानकारी गराए।
उनका अनुसार काठमाडौँ केन्द्रित आन्दोलनको घोषणापूर्व अधिकारविहीन समुदाय, मधेसवादी दलका शीर्ष नेता तथा हिमाल–पहाडका आदिवासी जनजातिबीच छलफल र संवाद जारी छ। केही समयमै आन्दोलनको औपचारिक घोषणा हुने र देशका सबै अधिकारविहीन जातजाति मिलेर सहभागिता जनाउने उनले बताए।
महतोले नेपालको संविधान २०७२ लाई त्रुटिपूर्ण भन्दै पहिचान र अधिकारविहीन संघीयतालाई उल्टाउने गरी आन्दोलनको कार्यक्रम ल्याउन लागिएको उल्लेख गरे। उनले भने, “अमेरिकामा २५० वर्षमा एउटा संविधान, भारतमा १७० वर्षमा एउटा संविधान बन्यो। तर नेपालमा छोटो समयमा सातवटा संविधान बने पनि मधेसी, आदिवासी, जनजाति, थारु, मुस्लिमलगायत सिमांकृत वर्ग अझै अधिकारविहीन छन्।”
उनका अनुसार ‘वन नेशन वन थियौरी’ को आधारमा शासकले शासन गरिरहेका कारण जनताले अधिकार पाउन सकेका छैनन्। उनले गरिब नेपाली युवाहरू रोजगारीका लागि विदेशिन बाध्य भएको, पहाड र मधेस दुबै क्षेत्रमा युवाशून्यता बढिरहेको अवस्थाको जिम्मेवारी पहिचानका आधारमा शासन गर्ने शासक वर्गकै रहेको बताए।
महतोले आन्दोलनको ढाँचा र स्वरूपबारे साझा एजेन्डा बनाउन देशभर जनजागरण अभियान चलिरहेको जानकारी दिँदै भने, “अब मधेसी दल र हिमाल–पहाडका आदिवासी जनजाति मिलेर निर्णायक आन्दोलन गर्नेछौं। अधिकारविहीन जनताको हक–अधिकार सुरक्षित गर्न यो आन्दोलन अपरिहार्य भएको छ।”